काठमाडौँ । नेकपा (एमाले) का नेता कर्ण थापाले पार्टीको विधानबाट दुई कार्यकाल र ७० वर्षे उमेर हद नहटेको बताएका छन् । शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षत्कार कार्यक्रमलाई सम्बोधन गर्दै उनले विधान महाधिवेशनले पास गरेको कुरामा राष्ट्रिय महाधिवेशनपछि जालझेल गरेर विधान छापिएको दाबी गरेका हुन् ।
उनले अहिले एमालेमा दुई वटा विधान देखाएर आफू अनुकूल चर्चा गर्ने काम भइरहेको बताए । उनले जसले जे–जे प्रचार गरे पनि एमालेको विधानबाट दुई कार्यकाल र ७० वर्षे उमेर हद नहटेको बताए ।
‘केही–केही हाम्रा नेताहरुले सामाजिक सञ्जालमा, आफ्नो पद जहाँ छ, त्यसको दुरुपयोग गरेर पार्टी पङ्क्तिमा हामीले राष्ट्रिय महाधिवेशनबाट पारित गरेका थियौँ भन्नुहुन्छ कहिले । कसैले विधान महाधिवेशनमै परिवर्तन भएको भन्नुभएको छ । त्यो कहीँ पनि छलफल, बहस भएको छैन । प्रथम विधान महाधिवेशनले जे फैसला गर्यो । ७० वर्षे उमेर हदवाला पनि विधान परिवर्तन भएको छैन,’ उनले भने ।
कात्तिकको ५ गते छापिएको विधान नै आधिकारिक रहेको उनले बताए । ‘त्यो विधान जे छापियो, त्यो सक्कली विधान छापियो । जे पारित भयो त्यही छापिएको छ । त्यसपछि पुसको ५ गते दुई वटा विधान छापिएका छन् । बाहिरको बोक्रो चाहिँ विधान महाधिवेशनबाट पारित गरिएको भन्ने नै छ,’ उनले भने, ‘अर्को विधान के छापियो भन्दा विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनबाट पारित भनेर छापिएको छ । विधान महाधिवेशनबाट पारित भएको दुई कार्यकाल र ७० वर्षे उमेर हदवाला जस्ताको तस्तै छापिएको विधान पनि हामीसँग छ । त्यसमा छलफल केही पनि नगरी छाप्ने बेलामा अर्कै छापिएको विधान पनि छ हामीसँग । यस प्रकारको जालझेलपूर्ण काम चाहिँ जसले गर्नुभयो, त्यो नगर्दिए हुन्थ्यो ।’
साथै, उनले एमालेको सक्रिय राजनीतिमा विद्या भण्डारी फर्किनुमा प्रश्न उठाउनुपर्ने कुनै कारण नरहेको उनले बताए । भण्डारीले राष्ट्रपतिको रूपमा आफ्नो अभिभारा सफलतापूर्वक पूरा गरेको र अझै देश र जनताको लागि केही गर्न बाँकी छ भनेर राजनीतिमा फर्किएको उनले बताए । ‘राष्ट्रपति भएको बेलामा उहाँ पार्टीको राजनीतिमा आउँछु भनेको भए प्रश्न उठ्नु स्वाभाविक थियो । अब पदीय दायित्व पूरा गर्नुपर्ने बेलामा गर्नुभयो । त्यसपछि पनि यो देशका निम्ति मैले केही गर्न बाँकी छ, म गर्न सक्छु । मेरो उमेर, ऊर्जा र अनुभव छ, मेरो अनुभव मेरो व्यक्तित्व जे बनेको छ, त्यसमा नेकपा (एमाले) को धेरै योगदान छ । नेपाली जनताको योगदान छ,’– उनले भने ।
साथै, भण्डारीले जनताप्रतिको दायित्व अनुभूति गरेर नै राजनीतिमा फर्किएको उनले बताए । नेपाली कम्युनिस्ट आन्दोलन र राष्ट्रिय, अन्तर्राष्ट्रिय क्षेत्रले पनि निष्कलङ्क मान्छेको अपेक्षा गरिराखेको बेलामा भण्डारीले पुनः राजनीतिमा इन्ट्री गरेको उनले बताए । एमालेभित्र भण्डारीले भन्दा त्याग र योगदान गरेको अरू थुप्रै नेताहरू भए पनि अहिलेको परिस्थितिमा सबैभन्दा बढी स्वीकार्य भने उनी नै रहेको नेता थापाले बताए । भण्डारी एमालेको राजनीतिमा फर्किएपछि पार्टीभित्र उत्साह र जाँगरको स्थिति पैदा भएको पनि उनले बताए ।
‘निष्कलङ्क खालको व्यक्तित्व पनि खोजी गरिराखेका छन् मान्छेले । सहज र साझा व्यक्तित्व पनि खोजिरहेका छन् । विद्या भण्डारीभन्दा योगदानको हिसाबले, योग्यताको हिसाबले कयौँ नेताहरू हुनुहुन्छ । तर, अहिले उहाँको व्यक्तित्वलाई सहज ढङ्गले ग्रहण गर्ने, त्यो ग्रहणीय व्यक्तित्वको हिसाबले भन्ने हो भने अरू कोही भन्दा विद्या भण्डारी बढी स्वीकार्य व्यक्ति हुनुहुन्छ । देशभित्र पनि, नागरिकका बिचमा पनि, विभिन्न हाम्रा छिमेकीहरू, हाम्रा मित्रहरूका बिचमा पनि हुनुहुन्छ । उहाँ आउँदा खेरी उत्साहको स्थिति पनि आएको छ । जाँगर पनि पैदा भएको छ,’– उनले भने ।
त्यस्तै, नेपालको कम्युनिस्ट आन्दोलनले साझा व्यक्तित्व खोजिरहेको अवस्थामा भण्डारी राजनीतिमा फर्किएको पनि उनले बताए । कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउने अभिभारा भण्डारीले पूरा गर्न सक्ने धारणा उनले व्यक्त गरे । ‘वामपन्थीहरूको बिचमा विवादको स्थिति छ । नेपालको कम्युनिस्ट आन्दोलनमा लाग्ने प्रमुख नेताहरूको बाँकी रहेको अभिभारा के छ भने वामपन्थीहरूको एकता पनि गर्नुपर्छ । त्यसका निम्ति स्वीकार्य नेता चाहियो भन्ने स्थिति छ । सबैले को त भन्दाखेरि सहज र स्वीकार्य विद्या भण्डारी छ भन्ने भइसकेपछि उहाँ अगाडि बढ्नुभयो,’– नेता थापाले भने ।
उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीभन्दा बढी सबैले मान्ने साझा व्यक्तित्व विद्यादेवी भण्डारी रहेको उनले बताए । आगामी महाधिवेशनमा भण्डारी अध्यक्ष पदको सम्भावित उम्मेदवार रहेको उनको भनाइ छ ।
‘उहाँ सम्भावित मान्छे हो अब । अबको नेतृत्वको लागि प्रबल सम्भावना भएको उहाँ मान्छे हो । … कतिपय सन्दर्भमा हाम्रो पार्टीका अध्यक्ष केपी शर्मा ओली भन्दा पनि साझा व्यक्तित्व विद्या भण्डारी हुनुभएको छ । उहाँ नेतृत्व गर्ने ठाउँमा पुग्नुभयो भने नेकपा (एमाले) अझ सशक्त र एकताबद्ध हुन्छ,’– उनले भने ।
उनले ओलीको प्रस्तावमा नै भण्डारी एमालेको अध्यक्ष निर्वाचित हुने दाबी गरे । ‘केपी शर्मा ओलीको प्रस्तावमा नै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी एमालेको अध्यक्ष हुने प्रबल सम्भावना छ,’– उनले भने ।