काठमाडौँ, असार १४– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू अब एमालेको राजनीतिमा सक्रिय हुने घोषणा गरेकी छन्।
मदन भण्डारीको ७४औँ जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो घोषणा गरेकी हुन्। एमालेको राजनीतिमा सक्रिय हुनकै लागि आफूले एमालेको सदस्यता नवीकरण गरेको उनको भनाइ थियो।
‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ उनले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु।’
देश र जनताको हितका लागि आफू फेरि राजनीतिमा आएको उनको जिकिर छ। उनले पतिसमेत रहेका एमालेका तत्कालीन महासचिव मदन भण्डारीको वाणीसमेत सम्झँदै राजनीतिमा आफूलाई थकान नलाग्ने बताइन्।
‘जननेताले भन्ने गर्नुहुन्थ्यो— जनता भनेका भगवान हुन्। साथै उहाँले भन्नुभएको थियो— राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन,’ उनले भनिन्, ‘आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु। व्यवहारका कसीबाट खारिएका यी भनाईलाई आदर्श मानेर म समर्पित बनिरहनेछु।’
आफूले भोगेका राजनीतिक उतारचढावले धेरै कुरा सिकाएको र थप परिपक्वसमेत बनाएको उनको भनाइ छ। ‘मलाई जस्तै विगतले अरुलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ,’ उनले भनिन्, ‘समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ।