काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन नआउँदै पार्टीभित्र केही स्वार्थ तत्त्वहरुलाई महाधिवेशन लागेको टिप्पणी गरेका छन्। जननेता मदनकुमार भण्डारीको ७४ औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय युवा सङ्घद्वारा चन्द्रागिरी नगरपालिका वडा १३, कङ्कालीमा आयोजित वृक्षरोपण कार्यक्रमको शुभारम्भका अवसरमा अध्यक्ष ओलीले यस्तो बताएका हुन्।
‘हाम्रा कार्यकर्तालाई महाधिवेशन लागेकै छैन। केही स्वार्थीहरुलाई महाधिवेशन लागेको मात्रै हो। हामी त्यस्ताका पछाडि लाग्नु हुँदैन,’ ओलीले भने, ‘पार्टीभित्र आफ्नो स्वार्थ खोज्नेहरुको हिसाबकिताब हुन्छ।’
आफूहरुको लक्ष्य पार्टीलाई एकल बहुमतसहितको मिसन–२०८४ रहेको उनको भनाइ थियो। ‘हामी अर्जुनदृष्टिका साथ मिसन २०८४ को अभियानमा छौँ। हाम्रो स्वार्थ देशको समृद्धि, विकास र सुशासन हो। यस मिसनमा सबै एकजुट भएर लाग्नुपर्ने बेलामा महाधिवेशन नआउँदै महाधिवेशन लागेको जस्तो देखाउन आवश्यक छैन।’
पूर्वराष्ट्रपति विद्या भण्डारीले एमालेको नेतृत्व लिनका लागि सक्रिय राजनीतिमा फर्कन विभिन्न गतिविधिहरूमा सक्रिय भइरहेका बेला ओलीले यस्तो चेतावनी दिएका हुन्। विद्यालाई राजनीतिमा आउन आवश्यक नभएको बताएका ओलीले विद्याले आफ्नो सुझव नमानेको भन्दै आक्रोशत छन्।
एमालेको आगामी महाधिवेशनलाई लक्षित गर्दै यी दुई नेताहरुबीच पार्टीमा ध्रुवीकरण गराउन स्पर्धा छ। विद्या भण्डारको पक्षमा नेताहरू खुल्न थालेपछि उक्त ध्रुवीकरणलाई रोक्न र त्यसलाई चेतावनी दिन ओलीले ‘स्वार्थी’ समूहको संज्ञा दिएका हुन्।