काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीले शनिवारबाट घरदैलो पदयात्रा सुरु गरेको छ।
पार्टी सभापति रवि लामिछाने माथि भएको राजनैतिक प्रतिशोधविरुद्ध हस्ताक्षर महाअभियानका लागि काठमाडौं जिल्ला समितिले शनिवार न्यूरोड गेटबाट घरदैलो पदयात्रा सुरु गरेको हो।
न्यूरोड गेटबाट सुरु गरिएको पदयात्रा टेबहाक, सुन्धारा, लगन चिकामुगल हुँदै इन्द्रचोक पुग्ने छ।
पदयात्रामा पार्टीका उपसभापति डीपी अर्याल, विराजभक्त श्रेष्ठलगायतका नेताहरुको सहभागिता छ।
चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई सुप्रिम बचत तथा सहकारीको रकम ठगेको कसुरमा पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। त्यसयता उनी रुपन्देही कारागारमा छन्।