यसरी मनाइदै छ राम सिताको बिबाह जानकी मन्दिरमा

जनकपुरधाम। त्रेता युगमा भगवान् राम र सीताको विवाह भएको सम्झनामा मनाइने विवाहपञ्चमी महोत्सव आजदेखि सुरु भएको छ। मिथिला नरेश राजा जनककी छोरी सीताको विवाहको स्मरणमा प्रत्येक वर्ष जनकपुरधाममा विवाहपञ्चमी भव्यताका साथ सात दिनसम्म विभिन्न कार्यक्रम गरी मनाइन्छ।

विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज ‘नगर दर्शन’ सम्पन्न भएको छ। अयोध्याका राजकुमार भगवान् रामसँगै भाइ लक्ष्मण र गुरु विश्वामित्र आजकै दिन मिथिलाको राजधानी जनकपुरधाम आएको सम्झनामा ‘नगर दर्शन’ गराइएको हो।

गुरु विश्वामित्र, राम र लक्ष्मणको पहिरन तथा साजसज्जा गरी जानकी मन्दिर परिसरभित्र सांकेतिक रूपमा नगर भ्रमण गराइएको छ। सीता स्वयंवर र धनुष यज्ञमा सहभागी हुन आफ्ना गुरुका साथ जनकपुर आएका भगवान् राम र लक्ष्मण यहाँको भव्यता देखेर चकित भएको रामायणमा उल्लेख छ।

राम-जानकी विवाह महोत्सवअन्तर्गत दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष यज्ञ, चौथो दिन तिलकोत्सव र पाँचौँ दिन मटकोर गरिनेछ। छैटौँ दिन राम-सीता स्वयंवर तथा शुभविवाह र सातौँ दिन (रामकलेवा) कार्यक्रम गरी विवाहपञ्चमी विधिवत् रूपमा सम्पन्न हुनेछ।

विवाहपञ्चमीको अवसरमा जानकी मन्दिर झकिझकाउ पारिएको छ। रंगीबिरंगी बत्ती राखिएको छ भने मन्दिरमा भव्य पन्डालसमेत निर्माण गरिएको छ। साताव्यापी महोत्सवमा सहभागी हुन भारत र नेपालका विभिन्न स्थानबाट श्रद्धालुहरू जनकपुर आउन थालेका छन्।

यस्तै हरेक साँझ रामकथा र रामको चरित्र दर्साउने रामलीलासमेत मनाउने गरिएको छ। जनकपुरधाममा विवाहपञ्चमी महोत्सवको छेको पारेर सरसफाइ कार्यक्रमहरू पनि भइरहेका छन्। अहिले सहर नै विवाहको गीतले गुन्जायमान बनेको छ। विवाहपञ्चमीका लागि आएका जन्तीहरूलाई बुधबार बिदा गरेपछि महोत्सव सकिनेछ।- नेपाल न्युज

अन्तर्वार्ता/विचार पर्यटन फिचर न्युज फोटोफिचर भिडियोहरु मुख्य खबर समाचार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *